Monday, January 2, 2012

बेलायती राजकुमार ह्यारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने


बेलायती राजकुमार ह्यारीले आगामी सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। लण्डनबाट निस्कने सन्डे टेलिग्राफले बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको उल्लेख गरेको छ। डायनाका कान्छा छोरा २७ वर्षीय ह्यारी बुबा राजकुमार चार्ल्स र दाजु विलियमपछि बेलायती गद्दीका तेस्रा उत्तराधिकारी हुन्।

ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने 'वाकिङ विथ द वाउन्डेड' नामको परोपकारी संस्थाका संरक्षक हुन्।

टेलिग्राफले हजुरआमा एलिजावेथ द्वीतियाको गद्दी आरोहणको ६० वर्ष र लन्डन ओलम्पिक पनि सन् २०१२ मै पर्ने भए पनि ह्यारी सगरमाथा आरोहण गर्ने पुरानो महत्वाकांक्षामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। यसै वर्ष उनी जमैका, बेलिज तथा बहमासको पदयात्रामा समेत जाँदै छन्।

बेलायती राजदरबार र ह्यारी आवद्ध रहेको परोपकारी संस्थाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ह्यारीका प्रवक्ताले भने बेलायती सेनाको कार्यक्रमअनुसार आरोहणबारे पछि जानकारी गराइने बताए।

उक्त संस्थाले रकम संकलनका लागि पहिलो चरणमा गम्भीर घाइते ८ सैनिकसहित नाम्चेबजारदेखि आधार शिविरसम्म सातदिने पदयात्रा गर्ने छन्। अर्को चरणमा कम्तीमा चार सैनिकले सगरमाथा आरोहण गर्ने छन् जसमा ह्यारी पनि सहभागी हुनेछन्।

सन् २००६ मा बेलायती सेनामा प्रवेश गरेका ह्यारी अहिले क्याप्टेन छन्। बेलायतकी कान्छी सगरमाथा आरोही बन्ने प्रयास गरिरहेकी २१ वर्षीया मोलिइ ह्युजले भने सैनिक टोलीका संयोजकले राजकुमार ह्यारी पनि आरोहणमा जाने आफूलाई जानकारी गराएको टेलिग्राफसँग बताएकी छन्।

No comments: