Thursday, January 11, 2007

नयाँ नेपाल बनाउने पुरानै नेता

माघे संक्रान्तिको दिन अन्तरिम संविधान जारी हुँदैछ । त्यसपछि माओवादीसहितको अन्तरिम संसद् बन्नेछ । अन्तरिम संविधानमा माओवादी नेताहरुबाहेक सबैजसो अनुहारहरु पुरानै हुनेछन् । अन्तरिम संसद्ले अन्तरिम सरकार बनाउनेछ । त्यो सरकारको नेतृत्वमा पनि उनै पुराना अनुहार हुनेछन् । अन्तरिम सरकारले संविधानसभाको निर्वाचन गराउनेछ । अनि त्यो संविधानसभामा पनि अहिलेकै नेताहरुको दिक्कलाग्दो अनुहार बोली र व्यवहार भोग्नुपर्नेछ । संविधानसभाले संविधान बनाउनेछ । त्यो संविधानले नयाँ नेपाल बनाउनेछ । अहिले हामी सबैको मुखमा झुण्डिएको नयाँ नेपाल बनाउने मार्गचित्र यही हो । झट्ट हेर्दा सरल र सहज लाग्ने यो मार्गचित्र कार्यान्वयन गर्नु कत्तिको सजिलो छ नयाँ नेपाल बनेपछि जादुगरी चमत्कारजस्तै सबैका समस्या समाधान हुनेछन् भन्ने जनतामा बढिरहेको अपेक्षा र आकांक्षा के सजिलै पूरा हुनसक्छ यदि सबैका आकांक्षा र अपेक्षा पूरा भएनन् भने कस्तो स्थिति सिर्जना हुनसक्छ

अहिले नेपालको जनसंख्यामा युवा पुस्ताको बहुमत छ । उनीहरुकै उत्साह जोस जाँगर र बलिदानले जनआन्दोलन सफल भएको हो । तर यो कुरा नेताहरुले यति चाँडै बिसे्रजस्तो छ । नेताहरु भन्दैछन्- हामी नयाँ नेपाल बनाउने महायज्ञमा जुटेका छौँ । उनीहरुले नयाँ शब्दमाथि जति जोड दिए पनि नयाँ नेतृत्वको कल्पना पनि गरेको देखिँदैन । ००७ सालमा गर्न नसकेको काम अहिले गर्छु भन्दैछन् । तर नयाँ नेपाल नयाँ पुस्ताले सोचेजस्तो हुनुपर्छ । नयाँ नेपाल बनाउने काममा उनीहरुको भूमिका मुख्य रुपमा हुनुपर्छ ।

नेपाल राज्यको पुनः संरचनाको सन्दर्भमा केन्द्रात्मक राज्यको ठाउँमा संघात्मक राज्य बनाउने कुरामा राजनीतिक दलहरुबीच सहमति भइसकेको छ । तर संघीय राज्यहरु जातीय आधारमा हुने कि भाषिक वा भौगोलिक क्षेत्रका आधारमा हुने भन्ने कुरामा धेरै विवाद छ । यो विवाद भोलि संविधान निर्माणको दौरानमा निकै जोडले उठ्नेछ यति जोडले कि नेपालको अस्तित्वमै प्रश्न उठ्ने सम्भावना हुनेछ । त्यो अवस्थाको कल्पना गर्दा नेपाल बिस्फोटकहरुको थुप्रोमा बसेको जस्तो देखिँदैछ ।

पृथ्वीनारायण शाहले एकीकरण गर्दा अस्तित्वमा रहेका राज्यहरुको अहिले कुनै साँध-सिमाना बाँकी छैन । त्यो साँध-सीमाको कुनै प्रमाण पनि अब उपलब्ध छैन । यसबीच विश्वभरि नै भएको प्रविधिको विकासले गर्दा मानिसहरुको बसाइँसराइँ यति धेरै भएको छ कि अब कुन जाति कहाँबाट कहाँ पुगेको छ भन्न सकिन्न । नेपालको भौगोलिक विशेषता नै यस्तो छ कि कुनै पनि जातिको एक परिवारका सदस्यहरु कोही सोलुमा कोही झापामा कोही डोल्पामा र कोही कैलालीमा गएर बसे भने १० वर्षपछि उनीहरुको भाषा भेष खानपान र कतिपय सांस्कृतिक परम्पराहरु पनि बेग्लाबेग्लै भइसक्ने छन् । डेढ सय किलोमिटरको फरकमा समुद्र सतहदेखि १ सय ५० मिटरदेखि ८ हजार मिटर अग्लो भूभाग भएको विश्वमा कतै नभएको नेपालको भौगोलिक विविधताले यहाँको जैविक र मानवीय विविधता जन्मेको हो । यातायात र साचारको विकासले गर्दा विविधतायुक्त जातजातिलाई एकअर्कासँग अन्तरकि्रया गर्न मिसिन लगाएको छ । सबैका हितलाई एउटै धागोमा बाँधिएको छ ।

यसैले नेपालको पुनःसंरचनाको कुरा राजनीतिदेखि माथि उठेर वैज्ञानिक तथा अहिलेको विश्वीकरण र विश्व अर्थतन्त्रको सन्दर्भमा खरो उत्रने गरी गर्नुपर्छ । तर यो कामका लागि नयाँ सोच चिन्तन र व्यवहारको खाँचो पर्छ । दलीय हित मात्र हेर्ने सत्ता त्याग्नु प्राण त्याग्नुभन्दा गाह्रो मान्ने नेताहरुबाट यस्तो सोच जन्मन सक्तैन । अधिकांश नेताहरुमा लामो अनुभवजन्य विविध पूर्वाग्रहहरु छन् । तर नयाँ पुस्तालाई नयाँ नेपाल बनाउन दिने कुरामा सबैको नकारात्मक धारणा नै देखिन्छ ।

पुराना समस्या सुल्झाउन नयाँ नेतृत्व चाहिन्छ भन्ने कुरा छिमेकी देश भारतको अनुभवले पनि स्पष्ट पार्छ । भनिन्छ इन्दिरा गान्धीको हत्या नभएको भए खालिस्तान समस्या सुल्झने थिएन । राजीव गान्धीको युवा नेतृत्व आएपछि पूर्वाग्रहहरु मेटेर सिखहरुसँग मेलमिलाप गर्ने वातावरण बन्यो । त्यस्तै आसामका विद्रोहीहरुसँग राजीव गान्धीको टक्कर पर् यो । संयोगले उनी मारिए । आसामको समस्या समाधान हुनुमा राजीवपछि आएको नयाँ नेतृत्वले महŒवपूर्ण काम गर् यो ।

विगत दुई दशकमा नेपालको राजनीतिमा छाएका नेताहरुबीच हुर्केको अविश्वास र पूर्वाग्रहले पनि नेपालको पुनःसंरचनालाई नकारात्मक प्रभाव पार्नसक्ने हुनाले पूर्वाग्रहरहित नयाँ पुस्ताको आवश्यता छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई ठाउँ दिनु प्रकृतिको नियम नै हो । यो नियमको बर्खिलाप गर्दा नेपालीहरुले यसअघि भएका क्रान्तिहरुलाई सत्ता परिवर्तनका रुपमा मात्रै अनुभव गर्नुपर् यो । अब पनि नयाँ नेपाल पनि पुरानै नेताले बनाउँछु भन्छन् भने यो ठूलो भूल हुनेछ । अहिले पनि सत्ता परिवर्तन मात्रै हुने हो भने यसको दोष अवश्य नै बूढा पुस्ताले बोक्नुपर्नेछ ।

1 comment:

Anonymous said...

well.. it's like I knew!